fbpx

Cart

Your Cart is Empty

Back To Shop

जगद्गुरु कमलनयनाचार्य योगिराज स्वामीजी

जगद्गुरु श्रीयोगिराज श्रीकमलनयनाचार्य

[ Ai Audio Player ]

योगिराज श्रीकमलनयनाचार्य स्वामी ( जन्म: वि.सं १९२५ भदौ महीनाको कृष्णपक्ष दशमी ) नेपालदेशका प्रथम जगद्गुरु सम्मानद्वारा विभूषित श्रीयोगिराज कमलनयनाचार्य परम वैष्णवसन्त हुनुहुन्थ्यो। तथा वहाँ अष्टाङ्गयोग निपुण भएर अन्न सर्वदा परित्याग गर्ने सन्त हुनुहुन्थ्यो । वहाँले मृत्यु पर्यन्त नै गाईको दुध मात्र पान गर्नु भयो । नेपालमा रामानुजाचार्यद्वारा प्रतिपादित श्रीवैष्णव सम्प्रदाय को उत्थानमा वहाँको निकै ठुलो भूमिका रहेको छ । वहाँ भक्ति आन्दोलक भई नेपालकै विभिन्न ठाउँमा सनातनवैदिक धर्मको संरक्षण संबर्धनमा सधैनै तत्पर रहनु हुन्थ्यो ।

जन्म तथा बाल्यकाल

दशमीका दिन नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीज्यूको जन्म भएको थियो ।
पूर्वी नेपालको इलाम जिल्लाको नामसालिङ गाउँमा बुबा मोतिखर (मुक्तिनाथ) र आमा यशोदा रिमालका साहिँला छोराका रूपमा वहाँको जन्म भएको थियो । बाल्यकाल इलामको सुन्दर प्राकृतिक वातावरणमा बिताउनुभएका वहाँले घरमै आफ्ना बुबाबाट अक्षरारम्भ गर्नुभयो । आठ वर्षको उमेरमा ब्रतबन्ध संस्कार सम्पन्न भयो।

विद्या आराम्भ

त्यस पछि बुबा मुक्तिनाथले आफ्नो छोरामा पढ्ने इच्छा तीव्र रहेको बुझेर संस्कृत व्याकरण आदि पढाउन भोजपुरको दिङ्लामा बालागुरु षडानन्दले स्थापना गर्नुभएको संस्कृत पाठशालामा पुर्याउनुभयो ।त्यहाँ रहेर शिक्षा आर्जन गर्ने क्रममा श्रीस्वामीज्यू बालागुरु षडानन्दको योगसाधना, तपोबल र त्यागपूर्ण जीवनशैलीबाट प्रभावित बन्नुभयो । लगभग चारवर्षसम्म त्यहाँ रहेर वेद, व्याकरण र कर्मकाण्ड अध्ययन गरी बालागुरु षडानन्दकै निर्देशनमा उच्च शिक्षा अध्ययनका लागि भारततर्फ जानुभयो । उच्चशिक्षा र दीक्षा भारतको अयोध्या पुगेर वेदान्त दर्शनका विभिन्न विषयहरू आत्मा, परमात्मा, प्रकृति, विद्या अविद्या आदिमा गहन अध्ययन र चिन्तन गर्नुभयो । त्यसपछि श्रीवृन्दावनधाम पुगेर श्रीमद्भागवत आदि पुराणहरूको अध्ययनमा लाग्नुभयो । उहाँको समग्र जीवनको अध्ययन गर्दा भक्तिमार्गको अनुसरण गर्ने प्रेरणा वहाँलाई श्रीवृन्दावनधाम र श्रीमद्भागवतको अध्ययनबाट प्राप्त भएको देखिन्छ । यसका अतिरिक्त उत्तर भारतका मात्र नभई दक्षिण भारतका समेत भूतपुरी, काञ्ची, श्रीरङ्गम् आदि क्षेत्रमा समेत उहाँले ज्ञान आर्जन गर्नुभएको थियो । यसै क्रममा श्रीजगन्नाथपुरी पुगेर त्यहाँका तात्कालीन श्रीशङ्कराचार्यसँग वेदान्तदर्शनको सार र सरल मुक्तिमार्गको बारेमा जिज्ञासा गरेपछि श्रीशङ्काराचार्यले नै विशिष्टाद्वैत दर्शनलाई आत्मसात गर्ने श्रीवैष्णव दीक्षा ग्रहण गरी शरणागतिमार्ग अवलम्बन गर्न सुझाव दिनुभयो ।

योगासधना

श्रीशङ्काराचार्यज्यूबाट प्राप्त सुझावअनुसार दक्षिण भारतको काञ्ची पुगेर श्रीस्वामीज्यूले श्रीवैष्णव सम्प्रदायको प्रतिवादी भयङ्कर गद्दीमा रहनुभएका श्रीअनन्ताचार्य स्वामीज्यूबाट श्रीवैष्णव दीक्षा ग्रहण गरी उहाँको शिष्यत्व स्वीकार गर्नुभयो । योगसाधना (आफ्ना आचार्यको निर्देशनअनुसार श्रीस्वामीज्यूले बदरिनाथ क्षेत्रको ज्योतिर्मठमा आई श्रीरघुनाथाचार्यबाट अष्टाङ्गयोगको साधना र अभ्यास गर्नुभयो । पौराणिक एवम् आध्यात्मिक दृष्टिले अत्यन्त पवित्र र प्राकृतिक सुन्दरताले भरिपूर्ण बदरिकाश्रमको चायाँ, स्थायीवाडी क्षेत्रमा श्रीस्वामीज्यूले तपस्या नै गर्नुभयो । तात्कालीन समयमा योगको अभ्यासमा रहनुभएका समकक्षीहरूको तुलनामा श्रीस्वामीज्यूको विशेष प्रतिभा र क्षमताबाट प्रभावित भई श्रीरघुनाथाचार्यले नै वहाँलाई ‘योगीराज’ उपाधिद्वारा विभूषित गर्नुभयो । आज पनि वहाँलाई सोही विशेषणबाट बढी सम्बोधन गरिन्छ ।

आचार्य उपाधि ग्रहण

यसैक्रममा बदरीकाश्रम क्षेत्रमा बदरीनारायण भगवान्को दर्शन गर्न जोशीमठ आइपुग्दा आफ्ना शिष्यको योगसाधना र श्रीवैष्णव सम्प्रदायप्रतिको निष्ठाबाट प्रभावित भई श्रीअनन्ताचार्य स्वामीज्यूले वहाँलार्ई आचार्य (शिष्य बनाउने) अधिकार प्रदान गर्दै सनातन वैदिक परम्परा र श्रीवैष्णव सम्प्रदायको अभिवृद्धि गर्ने महत्वपूर्ण अभिभारा प्रदान गर्नुभयो । सम्भवतः त्यति विशिष्ट गद्दी स्थानबाट आचार्य अधिकार प्राप्त गर्ने वहाँ पहिलो नेपाली आचार्य हुनुहुन्छ ।

श्रीसम्प्रदायको प्रचार प्रसार

धर्म प्रचार अभियान (पश्चिम नेपाल) आफ्ना आचार्यको निर्देशन अनुसार श्रीस्वामीज्यूले पश्चिम नेपालको कैलाली जिल्लामा आई धर्मप्रचारको अभियान प्रारम्भ गर्नुभयो । कैलाली, बर्दिया, दाङ, सल्यान, पाल्पा, गुल्मी आदि जिल्लामा समेत उक्त कार्यले निरन्तरता पायो । यसरी सुदूरपश्चिमबाट प्रारम्भ भएको वहाँको धर्मयात्रा क्रमशः पूर्वतर्फ आउँदै सीमा पारका सिक्किम, आसाम, बङ्गाल र भूटानसम्म पनि फैलिन पुग्यो । तात्कालीन समयमा अधिकांश स्थानमा पैदल यात्रा गरेर नै श्रीस्वामीज्यूले धर्म प्रचार गर्नुभयो । यस क्रममा पश्चिम नेपालको गुल्मी जिल्लामा अवस्थित जुहाङ रितौदीमा श्रीलक्ष्मीनारायण मन्दिरको स्थापना र प्राण प्रतिष्ठा, कालीगण्डकी नदी किनारमा रहेको पूर्तिघाट फूलबारीमा रहेको गौशालासहितको मन्दिर निर्माण, भक्तहरूका साथमै मुक्तिनारायण यात्रा आदि गरेर त्यस क्षेत्रमा धार्मिक जागरण ल्याउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो । आसाम र भूटान यात्रा वि.सं. २०१० को प्रयाग महाकुम्भ चलेको समयमा त्यहाँ पुग्नुभएका श्रीस्वामीज्यूलाई आसामका नेपालीभाषी भक्तहरूले गरेको आग्रह अनुसार वहाँ धर्म प्रचार गर्न आसाम प्रस्थान गर्नुभयो । आसामका तेजपुर शोणितपुर, वालिजुरी, मुनाबारी लगायतका विभिन्न स्थानमा धर्म प्रचार गर्दै विद्यालय र मठ, मन्दिरको स्थापना गराउनुभयो । धर्मका विषयमा उठेका जिज्ञासालाई समाधान गर्न ‘धर्मालोचनी’ सभाको गठन गर्नुभयो । श्रीस्वामीज्यूले त्यस क्षेत्रमा रहेर पु¥याउनुभएको धार्मिक एवम् शैक्षिक योगदानलाई उच्च सम्मान गर्दै वि. सं. २०१७ मा वहाँलाई १०८ कलशले अभिषेक गरी नगरपरिक्रमा समेत गराइएको थियो । यसैगरी धर्म प्रचार गर्न श्रीस्वामीज्यू वि. सं. २०२२ मा भूटानतर्फ जानुभयो । आफ्नो जीवनकालमा चारपटक भूटानको यात्रा गर्नुभएका वहाँले त्यहाँका सुरे, सर्वाङ, माउगाउँ, दागापेला, गेलेफू आदि स्थानमा हजारौं शिष्य बनाई धार्मिक जागरण गर्नुभयो । तात्कालीन समयमा भूटानका उच्च पदस्थ व्यक्तिदेखि सर्वसाधारणसम्मले वहाँलाई आफ्ना गुरुका रूपमा वरण गरे । त्यहाँ वहाँले मठ मन्दिर निर्माण सप्ताह, पुराण र यज्ञानुष्ठान सम्पादन, शिक्षाको प्रचार–प्रसार गर्दै आफ्नो सनातन संस्कारको संरक्षण गर्न विशेष प्रेरित गर्नुभएको थियो । मुख्य अभिमत प्राप्त स्थान माईधार श्रीस्वामीज्यूले आफ्नो जीवनका धेरै वर्षहरू धर्म प्रचारका लागि भ्रमणशील बनेर बिताउनुभयो । खासगरी पिछडिएको क्षेत्रमा आफै पुगेर धर्म र शिक्षाको पुनर्जागरण गर्नुभयो ।

श्रीलक्ष्मीनारायण मन्दिर तथा गुरुकुल

जीवनको अन्तिम समयमा वहाँले आफ्नो निवास कुटीका रूपमा झापा जिल्लाको हालको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको श्रीलक्ष्मीनारायण मन्दिरलाई स्वीकार गर्नुभयो । वहाँको आगमनपूर्व नै माईधारमा वहाँका शिष्यहरू धरणीधर निरौला, देवनायक अर्याल, नारद ढकाल आदिले सञ्चालन गर्नुभएको श्रीलक्ष्मीनारायण मन्दिरमा वि.सं. २०३२ मा पहिलोपटक स्वामीज्यू त्यहाँ आउनुभयो । श्रीस्वामीज्यूकै सक्रियतामा नवनिर्मित मन्दिरको प्राण प्रतिष्ठा वि. सं. २०३४ मा सम्पन्न हुनगयो । त्यहाँ सञ्चालित गुरुकुल विद्यालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आफ्ना आचार्यको नाममा श्रीअनन्तादर्श संस्कृत वेद विद्यालयको नामकरण गरी दुई बिगाहा जमिनको पनि व्यवस्था समेत गर्नुभयो । गौशाला, धर्मशाला र यज्ञमण्डप निर्माण गराई मन्दिरका लागि थप जग्गा जमिन पनि श्रीस्वामीज्यूले प्रदान गर्नुभयो । स्वामीज्यूको आगमन र स्थायी बसोबासले माईधार क्षेत्र तीर्थक्षेत्रका रूपमा परिचित हुनपुग्यो । पश्चिम नेपालदेखि लिएर भारतका बङ्गाल सिक्किम, आसाम र भूटानका समेत भक्तहरूको आवत–जावत बढ्दै गयो । यहाँ सञ्चालन भएको गुरुकुलमा अध्ययन गर्न टाढा–टाढाबाट समेत विद्यार्थीहरू आउन थाले । महिनौंसम्म पनि लगातार रूपमा सप्ताह पुराणहरू सञ्चालन हुनथाले । यसैगरी समय समयमा विभिन्न यज्ञानुष्ठान र उत्सव पर्वहरू भव्यरूपमा पूरा हुँदै गए । यी सबै कार्यहरूले श्रीस्वामीज्यूको कीर्ति पताका फहराइरह्यो । वृद्ध शरीर भए पनि वहाँ धर्म प्रचारका लागि निरन्तर दत्तचित्त हुनुभयो । यसै क्रममा वि.सं. २०३७ मा वहाँले श्रीलक्ष्मीनारायण मन्दिर माईधारको भावी महन्तको रूपमा स्वामी श्रीकेशवाचार्यलाई उत्तराधिकारी चयन गर्नुभयो ।

श्री स्वामीजीको दैनिकी

श्रीस्वामीज्यू २८ वर्षको उमेरदेखि गाईको दूधमात्र पिउने गर्नुहुन्थ्यो । बदरीकाश्रमको योगसाधना समयदेखि नै वहाँले अन्नको परित्याग गर्नुभएको थियो । नित्य दैनिकीमा ब्रह्ममूहुर्तको स्नान यौगिकक्रिया, तिलकधारण र सन्ध्यावन्दन सम्पन्न गरी तीर्थ प्रसाद लिएपछि गोमुखासनमा बसेर विद्यार्थीहरूबाट वेदपाठ सुन्नुहुन्थ्यो । श्रीस्वामीज्यूले खासगरी गुरुकूलीय पद्धतिको शिक्षा र धार्मिक मठमन्दिरहरूको स्थापनामा जोड दिनुभयो । वेद र गाईको संरक्षण नै वहाँको मुख्य उद्देश्य बन्यो ।

जगद्गुरु पदको उपाधि

वि.सं. २०४० फागुन २१ गतेदेखि २७ गतेसम्म नवलपरासी जिल्लाको गैंडाकोटमा आयोजना गरिएको २४ कुण्डात्मक विश्वशान्ति गायत्री महायज्ञ तथा विद्वद्सम्मेलनको अवसरमा महायज्ञको पाँचौं दिन फागुन २६ गते श्रीस्वामीज्यूलाई जगद्गुरु पदले विभूषित गरियो । उक्त कार्यमा दक्षिणभारतदेखि उत्तरभारतसम्मका विशिष्ट आचार्य, महन्त, सन्तहरू तथा विभिन्न विश्वविद्यालका प्राध्यापकहरूको सहभागिता रहेको थियो । यसैगरी नेपालका विभिन्न धर्म सम्प्रदाय सम्बद्ध धर्माचार्य तथा सङ्घ–संस्थाका प्रतिनिधिहरू, संस्कृतज्ञ विद्वान्, साधुसमाज र सर्वसाधारणहरूको समेत व्यापक उपस्थिति रहेको थियो रामानुजार्यदिव्याज्ञां वद्धतामभिवद्र्धताम्’ (श्रीरामानुजाचार्य स्वामीद्वारा प्राप्त दिव्याज्ञालाई नित्य निरन्तर अघि बढाऔं) भन्ने मान्यतालाई चरितार्थ गर्दै आजीवन धर्म प्र्रचार र संस्कृत शिक्षाको विकासमा लागिपर्नु हुने श्रीस्वामीज्यूको योगदानको उच्च मूल्याङ्कन गर्दै विद्वद्समाजले वहाँलाई जगद्गुरु पदमा अभिषेक गरेको हो । यसरी नेपाल आमाका एक सुपुत्रलाई नेपाली माटोमा नै पवित्र गण्डकी नदीको तटमा भारतीय विशिष्टाचार्यहरूको समेत सम्मति र उपस्थितिमा विधिपूर्वक जगद्गुरु उपाधि प्रदान गरिनु श्रीवैष्णव सम्प्रदाय अनुयायीहरूको मात्र नभई सम्पूर्ण नेपालहरूको नै राष्ट्रिय गौरवको विषय हो ।

स्वामीजीद्वारा देहत्याग

देहावसान वि.सं. २०४२ वैशाख १७ गतेका दिन ११७ वर्षको उमेरमा श्रीस्वामीज्यूको देहावसान भयो । वि.सं. २०४१ चैत्र २१ गते माईधारबाट भूटानको यात्रामा निस्कनुभएका वहाँले भूटानको सूरे भन्ने स्थानमा देह त्याग गर्नुभयो । सूरेमा तीन दिने अखण्ड श्रीमन्नारायण सङ्कीर्तन कार्यक्रमको आयोजना गराई वहाँ समाधिमा बस्नुभयो । योग बलका प्रभावले समाधिद्वारा नै आफ्नो प्राण त्याग गरी वहाँको देहावसान भयो । वहाँले समाधि लिँदा साथमा रहनुहुने सयौं भक्तहरूलाई आज पनि त्यो घडी अविस्मरणीय बन्न पुगेको छ । यसरी एक तपोनिष्ठ, सदाचारी, संस्कृत शिक्षाका अनुरागी एवम् धार्मिक अभियन्ताको अवसान हुन पुग्यो ।

स्रोत नेपाली विकिपीडिया

Written by

Leave a Reply

Your email address will not be published.

X

Cart

Your Cart is Empty

Back To Shop